रामचन्द्र तिम्सिना
(आवाज)
अँ साच्चै
तपाईले सुन्नु भयो कि सुन्नु भएन ?
बुझ्नु भयो कि बुझ्नु भएन ?
बिर्सनु भयो कि ताजै छ ?
अस्ति जस्तै लाग्छ
केपि ओलिले भाषण गरेको
त्यही भाषणमा
देउवा नै नेपाली कांग्रेसको
अन्तिम प्रधानमन्त्री हो भनेको।
१२ बर्षमा खोलो फर्किन्छ भन्थे
३ बर्ष मै देउवा फर्किए।
खै अब त
को अन्तिम प्रधानमन्त्री
को पहिलो बुझ्न गार्हो भो।
कोहि बोलेर चिप्लिन्छन
कोहि नबोलेरै।
नहुने र नपुग्ने बोलेर ओलि चिप्लिए
नाकाबन्दी र प्रतिगमन विरुद्ध
नबोलेरै देउवा चिप्लिए।
ओलिले पशुपतिमा सुनको गजुर हालेर
कुर्सी टिकाउँदै छन् ।
देउवाले ज्योतिषीलाई हात देखाएरै
मुख मिठ्याउँदै छन् ।
हुन पनि हो
महेश बस्नेत जस्ता दासहरुले
ओलिको विकल्प ओलि नै हो
भन्न भ्याएका छन् ।
देउवाका चाकर ज्योतिषहरुले
७ पटक प्रधानमन्त्री हुन्छन् भनेर
गन्न भ्याए कै छन् ।
कस्लाई के भन्नू र ?
भने पो कस्ले सुन्छन र ?
नेता जित्ने
जनता हार्ने
पार्टी जित्ने
पद्धति हार्ने
ठुला उम्कने
साना फस्ने
दिउँसो ताकुरमाकुर
राती मुसारमसुर गर्ने
परिपाटीको अन्त्य जरुरी छ।
त्यो भन्दा पनि पहिला
"अगुल्टोले हानेको बिरालो टाँड माथी"
कुर्सी हत्याउन बिदेशिको
बुई चढ्न रोकियोस।
नेपाल र नेपाली भित्रै
मौलिकता खोजियोस।
बिपिको समाजवाद र
भण्डारिको जवज नमासियोस।