Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

म्यानमारमा सैनिक सरकारको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीले गोली चलाउँदा १० जना मारिए

म्यानमारमा सैनिक सरकारको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीले गोली चलाउँदा १० जना मारिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • २३:०६:१० बजे
  • 1.9K
    SHARES
  • म्यानमारमा सैनिक सरकारको विरोधमा प्रदर्शन, सुरक्षाकर्मीले गोली चलाउँदा १० जना मारिए

    मयुरपाटी न्युज पोखरा - म्यानमारमा सैनिक सरकारको विरोधमा बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा १० जना मारिएका छन् । प्रत्यक्षदर्शी तथा मानवअधिकारकर्मीहरूले १० जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकहरूको संख्या बढ्न सक्ने जनाएका छन् ।

    images

    म्यानमारमा फेबु्रअरी १ को सैनिक कु विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले लोतन्त्रवादी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् ।

    प्रदर्शनका क्रममा भएका प्रहरीको दमनका कारण हालसम्म ज्यान गुमाउनेको संख्या कम्तीमा ३२ पुगेको छ । गत आइतबार गरिएका प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १८ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार कम्तीमा ३० जना घाइते भएका थिए ।

    अस्पताल स्रोतका अनुसार सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएको हो । दोस्रो ठूलो सहर म्यान्डलेमा दुई जनाको मृत्यु भएको अस्पताल स्रोतलाई उल्लेख गर्दै एएफपीले जनाएको छ । एक चिकित्सकले नाम नबताउने सर्तमा म्यान्डलेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् ।

    मियांगयान सहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको जनाइएको छ । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् । सबैभन्दा ठूलो सहर यांगुनमा पनि बुधबार प्रदर्शनहरु भएका छन् । विभिन्न सहरमा सुरक्षाफौजले पत्रकारहरु र नागरिक समाजका अगुवालाई धरपकड गरेको जनाइएको छ ।

    प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक पनि डाकेको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूल सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

    सैनिक कु सँगै सैनिक नियन्त्रणमा राखिएकी नेतृ सुचीलाई हालसम्म विभिन्न चारवटा अभियोग लगाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध सोमबार सुचीविरुद्ध त्रास वा खतरापूर्ण संकेत उत्पन्न हुन सक्ने सूचना प्रकाशन रोक्नेसम्बन्धी कानुन र दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

    त्यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

    सत्ताकब्जा गरेका सेना प्रमुख ह्लाइङले फरक मत राख्नेहरूप्रति सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको दाबी गर्दै आएका छन् । त्यस्तै सरकारले न्यून संख्यामा सुरक्षाफौज परिचालन गरेको उनको भनाइ छ । ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको दाबी गर्दै देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने बताउँदै आएका छन् ।

    नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरिएको र सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

    यसैबीच, म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसिएन) का विदेशमन्त्रीहरूको एक भर्चुअल बैठकमा सहभागी भएका छन् । उनी मंगलबार उक्त बैठकमा सहभागी भएका जनाइएको छ । उनी सैनिक सरकारद्वारा हालै विदेशमन्त्रीमा नियुक्त भएका हुन् । म्यान्मारको सरकारी सञ्चारमाध्यमका अनुसार भर्चुअल बैठकमा आसिएनका सबैजसो विदेशमन्त्रीहरूले म्यान्मारलाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने वाचा गरेका थिए ।

    एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology