पोखरा - नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता कार्यकर्तालाई बिहिबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोला कञ्चन जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् ।
अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव चक्रबहादुर बुढाले बताए ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर पठाइएको उनले बताए। मन्त्रिपरिषद्को बैठकले बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।
आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि भएको थियो।
शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेकपाका महासचिव 'विप्लव'ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।
सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् ।