लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरिएकामा विरोध गर्दै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
सांसद गिरीलाई राज्यविरुद्धको कसुरमा कारबाही माग गर्दै शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले गिरीविरुद्ध उजुरी दिएका हुन् । गिरीले राष्ट्रिय एकतामा खलल पार्ने काम गरेकाले मुलुकी अपराध संहिता–२०७४ अनुसार कारबाही गर्न उजुरीकर्ताको माग छ । अब गिरीलाई पक्रन प्रहरीले अदालतको अनुमति मागिने टेकु प्रहरी श्रोतले जनाएको छ । गिरीले भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर जारी भएको नक्साअनुसारको निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव खारेजीको माग गर्दै अर्को संशोधन दर्ता गराएकी थिइन् । गिरीले संसद बैठकमै भारतलाई नसोधी नक्सा जारी गरिएको भन्दै आपत्ति जनाएकी थिइन् ।