नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब मिल्ने सम्भावना नरहेको बताएका छन् । आफ्नो उपाध्यक्ष पदसमेत खारेज भएपछि उनले असन्तुष्ट हुँदै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गरेपछि उनले असन्तुष्ट हुँदै अब मिलेर जाने सम्भावना समाप्त भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले त्यसको विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज गरेका छन् भने माओवादी धारबाट आएकाहरुलाई भने जिम्मेवारी दिइएको छ ।
नेता गौतमले प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउँदै अहिले ओलीले जे बोल्यो त्यही कानुन हुने अवस्था सिर्जना भएकोसमेत बताए । केपी ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना समाप्त भएको उनले बताए ।