भारतमा नेपालीको कपाल जबर्जस्ती मुण्डन गरिएको भन्ने खबर झुठो भएको भारतीय प्रहरीले बताएका छन्।अनुसन्धान गर्दा कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको खुलेको बनारस प्रहरीले जनाएको छ।उनले पैसा लिएर अभिनय गरेको स्वीकारेका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि बनारसमा विश्व हिन्दु सेना नामक समूहले नेपाली नागरिकको कपाल जर्बजस्ती मुण्डन गरेको भन्दै एक भिडियो भाइरल बनेको थियो।तर अनुसन्धानपछि उक्त भिडियोमा पीडितका रूपमा देखाइएको युवा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडियो बनाएको पत्ता लागेको हो।
भिडियोमा देखिएअनुसार केही व्यक्तिले नेपाली भनिएका एक युवाको कपाल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।हालै प्रधानमन्त्री ओलीले भगवान राम नेपालमा जन्मिएको र उनको जन्म स्थान ठोरी नजिकै भएको बताएका थिए।
ओलीले भारतले नक्कली अयोध्या खडा गरेको बताएपछि भारतीय नागरिकहरु उनीसँग रुष्ट बनेका छन्।नेपाल भित्रै ओलीको आलोचना भएको छ। एजेन्सी