पोखरा - नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ। सरकारले पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएसँगै प्रधानमन्त्री ओली र विप्लवबीच आज सोमबार भेट दोस्रो हो। सोमबारको भेटमा विप्लवले दुई पक्षबीच भएका सहमति कार्यान्वयनमा ढिलाईप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। गत फागुन २१ गते राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो।
उनले अझैपनि आफ्ना पार्टीका नेताकार्यकर्ताको घरमा प्रहरीबाट पूर्जी टाँस्ने काम भएको र सरकारसँग भएको सहमति पालना नभएकोप्रति असन्तुष्ट जनाउँदै पक्राउ परेका आफ्नो पार्टीका नेता, कार्यकर्ता रिहाईको विषयमा जिज्ञासा राखेको नेकपा निकट एक नेताले जानकारी दिए। उनकाअनुसार सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेता, कार्यकर्ताको रिहाइका लागि निर्देशन भइसकेकाले केही छुटिसकेको र कतिपय मुद्दा अदालतमा प्रक्रिया पूरा गर्नुपर्ने भएकाले जारी रहेको जवाफ दिएका छन्। भेटमा राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ।
राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न विप्लवसहितका नेताहरु पुगेका थिए।
तीन बुदेँ सहमतिमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका थिए। सहमतिअनुसार सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो भने विप्लव पक्षले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डको संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली गठन भएको थियो।
यस्ता थिए तीन बुँदा
१। दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।