Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माधव नेपाललाई एमालेले सोध्यो १० बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

माधव नेपाललाई एमालेले सोध्यो १० बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ०८:५९:१२ बजे
  • 1.4K
    SHARES
  • माधव नेपाललाई एमालेले सोध्यो १० बुँदे स्पष्टीकरण : के छ पत्रमा ?

    पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ। शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरुलाई स्पष्टीकरण सोधेका हुन्।

    images

    नेकपा एकीकरण पूर्व नेपाल एमालेका वरिष्ठ नेता थिए तर अहिले पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको रुपमा स्पष्टीकरण पत्र पठाइएको छ। एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष र महाचिवबाहेक सबै पदाधिकारीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। नेपाललाई एमालेले १० बुँदे प्रश्नसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।

    नेपाललाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ? भनेर सोधिएको छ।

    स्पष्टीकरण पत्रमा पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित भेलाहरु आयोजना गर्नु र पार्टीको एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो भन्दै प्रश्न समेत गरिएको छ।

    मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिइएको छ । नेपाललाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ, तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।

    एमालेले नेपाललाई पठाएको स्पष्टीकरण पत्रको पूर्णपाठ :

    २०७७ चैत ८ श्री माधवकुमार नेपाल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)।

    बिषय : स्पष्टीकरण पेश गर्नुहुन ।
    तपाई, माधवकुमार नेपालले हाम्रो पार्टी विधान विपरित पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाई के कति कारणले गर्नु भएको हो ?

    १। तपाईले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप' तयार गर्न, पार्टी विधानको व्यवस्था विपरित छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

    २। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान विपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानुन विपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के-कुन आधारमा सडकबाटै कथित निश्कासनको निर्णय गर्नु गराउनु भएको हो ?

    ३। निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित पटक-पटक तपाई र तपाई समेत भई विभिन्न प्रकारका निवेदनहरु के-कति कारणले गर्नु गराउनु भएको हो ?

    ४। पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक-पटक किन जानुभएको हो ? र, पार्टी फुटाउँदा के-कुन उद्देश्य हासिल हुने हो ?

    ५। पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरुको भेला गरी अनाधिकृत रुपले विभिन्न कार्य गरीगराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?

    ६। तपाईले आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद, सञ्चार-माध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नो दलका नेता एवम् प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरुलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरी मिति २०७७ पुस ५ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेको जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

    ७। सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो ?

    ८। विपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो ? ९ माधव नेपालहरु सके नेकपा (एमाले) कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ केहो ?

    १०। माथि उल्लेखित क्रियाकलापहरुका साथै तपाईले पार्टी हित विपरित पार्टीको बैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरु सञ्चालन गरेगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेगराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरेगराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरित विभिन्न कार्यहरु निरन्तर गरिरहेकोगराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएकोउक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीत विपरित काम गरेगराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेगराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरीगराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरुद्ध, पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरेगराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरु के-कति कारणले निरन्तर गर्नु गराउनु भएको हो ?

    मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिईएको छ । तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।

    ईश्वर पोखरेल महासचिव

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology