पोखरा - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा पछिल्लो समसामयिक राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने उनले बताए ।
फागुन १ र २ मा बसेको माओवादी केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई प्रदान गरेको थियो ।
यस अगाडि बसेको माओवादीको केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने माओवादी केन्द्रको केन्द्रीय बैठकले निर्णय गरेको छ।
बैठकमा माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले प्रत्युत्तर नदिएकाले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने भएको छ। नेकपा माओवादी केन्द्रले मुख्यतया दुई दल, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको थियो।
मंगलबारको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिने, नयाँ सरकार निर्माणका लागि गठबन्धन, एमालेमा गएका नेताहरुलाई कारवाही गर्नेलगायतको विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले जनाएका छन्।