पोखरा - नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
नेताहरुलाई सोधिएको स्पष्टीकरण र पार्टीमा देखिएको विवाद बारे छलफल गर्न बैठक बोलाइएको स्रोतले बताएको हो । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।
एमाले अध्यक्ष एव् प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरलले सोमबार स्पष्टीकरण पत्र काट्दै तीन दिनभित्र जवाफ दिन भनेका छन् ।
नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो ।