गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन्। माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन।
प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन्। ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ। अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेकै १ जना सांसदबाट खतरा देखिएको छ। एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ। सांसद सापकोटाले भने त्यसबारे सोच्ने समय नआएको बताए।