श्रावण ५, २०७७ सोमवार
•
११:१८:२९ बजे
गण्डकी — गण्डकी प्रदेश प्रहरीले आइतबारदेखि सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा बनेको अस्पतालको नयाँ भवनको उद्घाटनसँगै सेवा दिन थालिएको हो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले अस्पतालको उद्घाटन गरे । उनले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको बताए । उनले अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास लिए ।
नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंबाट उपलब्ध सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले २०७४ चैत १७ मा पोखरामा अस्पताल भवनको शिलन्यास गरिएको थियो । २०७६ असोज ७ को मन्त्रिपरिषद्को बैठकले २१ प्राविधिकसहित ४१ जनाको दरबन्दी रहने निर्णय गरेको थियो ।
हालसम्म क्षेत्रीय सशस्त्र प्रहरी गण (नेपाल प्रहरी) बाट ७ कर्मचारीले सेवा दिँदै आएका थिए । ‘अर्को व्यवस्था नभएसम्म पुरानै दरबन्दीका कर्मचारीले सेवा उपलब्ध हुनेछ,’ प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजेन्द्र रेग्मीले भने, ‘केही समयमा दरबन्दी अनुसार कर्मचारी आउनेछन् ।’ ११ सय ६ वर्गफिट क्षेत्रफलमा निर्माण गरिको अस्पताल भवन २८ लाख २३ हजार लागतमा निर्माण भएको उनले बताए ।
अस्पतालका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपीडीसहित वार्ड,ल्याब र फार्मेसी सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिँदै हाडजोर्नी, नशा तथा बाथ रोग लगायतका अन्य सेवाहरु प्रदान गरिने बताए ।
आइतबारदेखि सञ्चालनमा आएको गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गर्दै डीआईजी घनश्याम अर्याल । तस्बिर सौजन्यः गण्डकी प्रदेश प्रहरी कार्यालय ।