पोखरा - नेकपा एमाले नेपाल-खनाल समुहले कास्की जिल्लामा बज्रराज अधिकारीको नेतृत्वमा अनेरास्ववियु कास्की जिल्ला कमिटी गठन भएको छ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समुहले छुट्टै अनेरास्ववियु कमिटि गठन गरेको हो ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भएको भेला मार्फत अधिकारीको नेतृत्वमा १ सय ४१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरिएको थियो ।
भेलामा अनेरास्ववियु केन्द्रिय सचिव राजन शर्मा पराजुलीले अब विद्यार्थी आन्दोलन सरकारी क्याम्पसमा हुने दुई खाले शिक्षाको अन्त्य गर्ने दिशामा अगाडि बढ्ने बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य श्रीनाथ बराल, एमाले कास्की अध्यक्ष तथा पूर्व स्ववियु सभापति धनराज आचार्य, पृथ्वीनारायण क्याम्पसका निवर्तमान स्ववियु उपसभापति तथा एमाले महानगर सचिव सुशील बस्नेत लगायतले बोलेका थिए ।
शंकर सैंजुले अध्यक्षता गरेको कार्यक्रमको संचालन सन्तोष न्यौपाने, स्वागत रसिका भण्डारीले गरेका थिए ।