तनहुँ - तनहुँको व्यास नगरपालिका १३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महिनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थालेका हुन् ।
विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे भएर बस्नुपरेपछि २ दाजुभाइले गत वर्षको चैतदेखि व्यावसायिक रूपमा पशुपालनतर्फ लागेका हुन् ।
कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि शुरुमा १ करोड रुपैयाँ लगानी गरेर व्यवसाय थालिएको पुस्तक व्यवसाय गर्दै आएका भाइ वीरेन्द्र नरालले बताए । हाल फार्ममा २० पाडा, १०० बाख्रा र ७०० लोकल जातको कुखुरा रहेका छन् । उनले भने, वार्षिक १०० पाडा बिक्री गर्ने लक्ष्य रहेको छ । भैंसीका पाडा, बाख्रा र कुखुरा स्थानीयस्तरमा उत्पादन गरिएको ल्याइएको छ । उनले भने, ;स्थानीय खरी जातको बाख्रालाई बोयर जातको बोका क्रस गराउने उद्देश्यले बोयर बोका खरीद गरेर ल्याइएको छ ।
आत्मनिर्भर बनेको अवस्थामा लकडाउन, बन्द, हड्ताल लगायतको हुँदा पनि कुनै प्रभाव नपर्ने देखिएकाले पशु कृषि व्यवसायबाट केही गर्नुपर्छ भनेर शुरूआत गरिएको नराल दाजुभाई बताउँछन् ।
पाडा र बाख्रा बिक्री गर्न केही समय लाग्ने भए पनि करीब डेढ लाख रुपैयाँ मूल्य बराबरको कुखुरा बिक्री भइसकेको बताइएको छ । फार्मबाट दैनिक एक खसी, बोका, दैनिक १० क्रेट अण्डा र दैनिक १० वटा कुखुरा बिक्री गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको दाजु दयानिधि नरालले बताए ।
पशुपालनका लागि करीब ७५ रोपनी जग्गामा फार्म तथा घाँस लगाइएको उनले बताए । फार्म अवलोकनमा आउने कृषकलाई सुरक्षा अपनाएर टाढैबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फार्ममा कार्यरत ३ जना कामदारले पनि चुना र स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश गर्ने गरेका छन् । सानेबहादुर नेपालीरासस