प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गरेका छन् । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरुलाई विकास विरोधीको संज्ञा दिएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् ।
भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्ने तर्फ उन्मुख भएको टिप्पणी गरे । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई शकुनीको संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने शकुनीका गोटीनै आफूले फ्याँकिदिने चेतावनी दिए ।
उनले भने, सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुनःनिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी शिलान्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक शिलान्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एक हप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।
मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका शकुनीहरुले संसदको अंक गणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै फ्याँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे ।
उनले भने, अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंक गणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८ २० महिना होला । त्यसपछि फेरी यस्तो अंक गणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?
पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे ।
सम्मृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसीमा औषधी बेच्ने बीचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे ।