नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन्।
शनिबार गृहजिल्ला चितवन आएका प्रचण्डले आइतबार पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई यसअधि तीन पटक प्रधानमन्त्रीबाट हटाएको र अब चौथोपटक हटाउन लागेको बताए।
यसअघि हामीले तीन पटक प्रधानमन्त्रीलाई हटायौँ तर बिडम्बना भन्नुपर्छ अहिले पनि नकचरो भएर केपी प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन्अध्यक्ष प्रचण्डले भने, अब हामी चौथोपटक केही दिनभित्रै उहाँलाई हटाउँदैछौँ।
उनले ओलीलाई पहिलोपटक संसदीय दलको नेताबाट हटाएर आफूलाई दलको नेता बनाएको र यसको जानकारी संसद सचिवालयलाई समेत जानकारी दिएको बताए। उनले नेपालको संविधान र कानुन अनुसार संसदीय दलको नेता नरहेको भन्छे स्वतः प्रधानमन्त्रीमा नरहने व्यवस्था रहेको बताए।
उनले ओलीलाई दोस्रोपटक पार्टी केन्द्रीय समितिबाट ७० प्रतिशत भन्दा बढीले कारबाही गरेर पार्टीबाट हटाएको र त्यसको जानकारी निर्वाचन आयोगलाई दिए पनि आयोगले कुनै निर्णय नगरेको बताए। पार्टी केन्द्रीय समितिको ७० प्रतिशतले राष्ट्र, लोकतन्त्र र संविधानविरोधी काम गरेको र पार्टी अनुशासनको पालन नगरेको कारण उहाँलाई हटायौ र निर्वाचन आयोगलाई जानकारी दियौँ उनले भने, तर, निर्वाचन आयोगले निर्णय गर्नै पर्थ्यो, गरेन्। ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतलाई प्रधानमन्त्री, पार्टी भनिराख्न मिल्दैन। यसमा पनि हामी विजयी भयौँ।
उनले तेस्रोपटक ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रधानमन्त्रीबाट हटिहाल्नु पर्नेमा लाज र घिन पचाएर बसिरहेको आरोप लगाए। उनले अब ओलीलाई केही दिनमै हटाएर लोकतन्त्र र संविधानका पक्षधरहरुको साँझा सरकार बनाउने र त्यसको नेतृत्व आपसी सहमतिबाट तय गर्ने बताए।
अध्यक्ष प्रचण्डले आफूहरु अझै पनि कम्युनिस्ट एकताको पक्षमा रहेको र एकता सम्भव र आवश्यक रहेको बताए।
कम्युनिस्ट आन्दोलनको एकता सम्भव छ, आवश्यक छ अध्यक्ष प्रचण्डले भने, हामी कम्युनिस्ट आन्दोलनको एकताका पक्षमा छौँ। सबै कम्युनिस्ट पार्टी एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।