लमजुङ - लमजुङको बेंसीसहर नगरपालिका ८ दनाई फाँटमा रहेको बेसीशहर हार्डवेयर पसलमा आगलागी हुदाँ १ करोड २५ लाख क्षति भएको छ । बेसीशहर १० बाँझखेतका गंगाबहादुर थापाको पसलमा आइतबार बेलुकी साढे १० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय लमजुङबाट ३५ जनाको टोली र सशस्त्र प्रहरीको १४ जनाको टोली घटनास्थलमा पुगेको थियो । रातको साढे १० बजे आगलागी भएपनि दमकल भने साढे ११ बजेमात्र घटनास्थलमा पुगेको स्थानीय बताए ।
स्थानीयका अनुसार समयमै दमकल नपुगेको र घटना भएको एक घण्टा ढिलो गरी पुगेको दमकलमा पानी नहुँदा आगो निभाउन समस्या भएको थियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगद लगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा पनि क्षति पुगेको छ । आगलागी के कसरी भयो भन्ने यकिन भइनसके पनि विद्युत् सर्ट भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आगो नियन्त्रणमा लिने क्रममा बाराको देउताल गाउँपालिका ४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । लमजुङका आठ वटा स्थानीय तहमध्ये बेसीशहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकलको व्यवस्था छ ।