Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वराजाको सन्देश

नयाँ वर्षमा पूर्वराजाको सन्देश : फुटेर होइन जुटेर अघि बढ्न आह्वान

नयाँ वर्षमा पूर्वराजाको सन्देश : फुटेर होइन जुटेर अघि बढ्न आह्वान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १, २०७८ बुधवार • १०:४९:१८ बजे
  • 904
    SHARES
  • नयाँ वर्षमा पूर्वराजाको सन्देश :  फुटेर होइन जुटेर अघि बढ्न आह्वान

    पोखरा - पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता सबैमा हुनुपर्ने बताएका छन्। पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला नयाँ वर्षको शुभकामना सन्देश जारी गरेका पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन्।

    images

    यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्दको अन्त हुनुपर्छ। अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्छ, शाहले भनेका छन्।

    पछिल्लो राजनीतिक घटनाक्रमप्रति पनि संकेत गर्दै पूर्वराजा शाहले हरिद्वारबाट जारी गरेको शुभकामना सन्देशमा अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र परनिर्भरता त्याग्नुपर्ने आवश्यकता पनि औल्याएका छन्।

    हरेक नयाँ वर्षमा सुख, सम्मुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा रहे पनि समय वित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले सांकेतिक रुपमा राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्। काल क्रममा यस्तो हुनु हुन्न। नेपाली जनताको आकांक्षा पुरा हुँदै जानु पर्दछ भन्ने हाम्रो कामना हो, शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

    शाहले राजनीतिक दल, सरकार र नागरिकलाई विभिन्न सुझाव पनि दिएका छन्। नेपाललाई सबै मिलेर जोगाउनुपर्ने, सर्वसाधारणहरुको जीवनस्तर उकास्नुपर्नेमा जोड दिएका छन्।

    हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ। यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानु छ शाहले भनेका छन्, टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र अरु निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ।

    पूर्वराजा शाहले फुटेर होइन जुटेर अघि बढ्न आह्वान गरेका छन्। नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। सबैको एउटै उद्देश्य हुनु पर्दछ, एउटै कामना हुनु पर्दछ, उनले भनेका छन्।

    पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु पर्नेमा शाहले जोड दिएका छन्। देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ। पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पुरा गर्यौं भने हामी उठ्छौं। निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ, उनले भनेका छन्।

    पूर्वराजा शाहले देशलाई आफ्नै स्रोतशक्तिबाट आत्मनिर्भर बनाउनुपर्ने सुझाव पनि दिएका छन्। मेची महाकाली - देश बचाउने हाम्रो पाली। नेपाल हाम्रो पहिचान हो - सनातन हाम्रो संस्कार हो। न जाति न भाषा - सबै नेपालीको एउटै आशा। पहाडका गाउँ गाउँमा आधुनिकताको लहर विस्तार गरौं, तराईका फाँटहरुलाई भुलाउ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं, पूर्वराजाले आह्वान गरेका छन्।

    यिनै भावनाका साथ नयाँ वर्ष साँच्चिकै नयाँ रहोस् भन्ने कामना पूर्वराजा शाहले गरेका छन्। नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस्, उनले भनेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology