कर्णाली - कर्णाली प्रदेशमा फ्लोर क्रस (संसदीय दलको ह्वीप) उलङ्घन गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।
मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा मत हाल्न फ्लोरमा जाने देवी ओलीलाई भने चित्तबुझ्दो जवाफ दिन भनिएको छ । मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको थियो ।फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन् ।
सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै फ्लोर क्रस गर्नेमध्येका एक सांसदले पार्टीबाट कारवाही गरे भोग्न तयार रहेको बताएका थिए । विगतमा संविधानसभा सदस्य समेत रहेका सांसद अम्बरबहादुर थापाले भने, कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ । देशको कानून बनाउने पनि मै हुँ । आफूले एमालेलाई धोका नदिएको उनले बताए ।
एमालेलाई केपी ओलीले धोका दिएका हुन्, मैले होइन, थापाले भने । संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको तर उनले कहिल्यै आफूलाई सहयोग नगरेको गुनासो थापाको छ ।
मन्त्री बनाउने शर्तमा सरकारलाई विश्वासको मत दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, होइन, मलाई मन्त्री बन्नु छैन । सक्रिय राजनीति नै गरिन्छ ।