चितवन - चितवनस्थित रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच दोहोरो झडप हुँदा चारजना घाइते भएका छन् ।
नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच शुक्रबार दोहोरो झडप हुँदा चार जना घाइते भएको चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
झडपमा परी नेपाल विद्यार्थी संघका दिपेश बानियाँ र खेमराज उपाध्याय गम्भीर घाइते भएका छन् । दुवै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले बताए । अन्य दुई जना घाइतेको अवस्था भने सामान्य रहेको उनले बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले चितवनमा विद्यार्थी नेतामाथि सांघातिक हमला भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले विद्यार्थी नेतामाथि सांघातिक हमला गर्नेलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ नगरेको भन्दै आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन माग गरेका हुन् ।