Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपनिर्वाचन गर्ने तयारी

माओवादी केन्द्रबाट एमालेतर्फ लागेका १३ सांसदको पद खारेजी,भदौमा उपनिर्वाचन गर्ने तयारी

माओवादी केन्द्रबाट एमालेतर्फ लागेका १३ सांसदको पद खारेजी,भदौमा उपनिर्वाचन गर्ने तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ५, २०७८ आइतवार • १३:१४:४३ बजे
  • 1.7K
    SHARES
  • माओवादी केन्द्रबाट एमालेतर्फ लागेका १३ सांसदको पद खारेजी,भदौमा उपनिर्वाचन गर्ने तयारी

    पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका १३ जना सांसदको पद खारेजी भएको छ । माओवादीले विभिन्न प्रदेश, संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाका १३ सांसदको पद खारेजी गरेको हो ।

    images

    योसँगै माओवादी केन्द्रमा १३ जना सांसदको पद रिक्त छ । आइतबारमात्रै एमालेका लागेका पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै उनी मन्त्री पदबाट पनि स्वतः पदमुक्त भएका छन् ।

    बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए । यस्तै माओवादीबाट एमालेमा लागेका लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको समेत पद गुमेको छ । सांसद पद नरहेपनि उनीहरुलाई ओलीले पुनः मन्त्री बनाइसकेका छन् ।

    माओवादीका ८ जना प्रदेशसभा सदस्यले पनि सांसद पद गुमाइसकेका छन् । जसमा प्रदेश १ का टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मी रहेका छन् ।

    त्यसैगरी प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना प्रदेशसभा सदस्यलाई एकैसाथ बर्खास्त गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई कारवाही गरेपछि ती स्थान रिक्त बन्न पुगेका हुन् ।

    प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाही गरेको हो । मण्डल धनुषा क्षेत्र नम्बर १ को(ख), कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख), ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित सांसद हुन् भने मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद थिए ।

    अब संघसहित प्रदेशका १३ स्थानमा सांसद पद रिक्त भएपछि उपनिर्वाचन गर्नुपर्ने भएको छ । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलिले भदौमा उपनिर्वाचन गर्ने तयारी गरेका छन् । शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले भदौमा उपनिर्वाचन गर्ने बताएका हुन् । यता निर्वाचन आयोगले भने रिक्त पदमा नियुक्तिबारे सरकार र आयोगबीच छलफल गर्ने बताउँदै आएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सरकार र आयोगबीच बसेर छलफल हुने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology