नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीबाट प्रधानमन्त्री केपी शर्माको हारको सुरुआत भएको दाबी गरेका छन्।
सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गर्दा पनि ओलीले हार स्वीकार नगरेको भन्दै प्रचण्डले कर्णाली प्रदेश सरकार गिराउने प्रयास असफल भएसँगै औपचारिकरुपमा हारको सुरुआत भएको दाबी गरे।
चितवनमा माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै प्रचण्डले भने, अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन्। ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन्, उनले भने, प्रतिगमन धेरै दिन टिक्दैन।
पार्टी एकता, बाम गठबन्धन र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा आफूनै प्रस्तावक रहेता पनि ओलीले धोका दिएको भन्दै प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताए। राजनीतिक तुवाँलो धेरै समय रहँदैन अब तुवाँलो फाटेर उज्यालो सुरु हुन्छ, उनले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले प्रचण्डलाई सडकमा पुयाएँ भनेर धेरै खुसी हुनु आवश्यक नरहेको भन्दै बाजी आफूहरुले जितिसकेको बताए।