प्रधानमन्त्री ओलीले बुधबार माधवकुमार नेपालसँग भेटवार्ता गरेर टुटेको संवादलाई जोड्ने प्रयत्न गरेका छन् । त्यस्तै हिजै साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।
प्रधानमन्त्रीले आजै पार्टीका नेता तथा हिजो स्पष्टीकरण पत्र थमाएका सांसद योगेश भट्टराईलाई पनि भेटेका थिए । प्रधानमन्त्रीले आफैँ टेलिफोन गरेर माधव नेपाललाई भेट्न बोलाउनुभएको हो । आजै साँझ पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोन संवाद भएको छ, थापाले बाह्रखरीसँग भने ।
स्रोतका अनुसार नेता नेपालसँगको दुई घण्टाको भेटमा सबै विषयमा खुला खुलस्त कुराकानी भए पनि दुवै पक्ष आ आफ्नो अडानमा यथावत् छन् । प्रधानमन्त्री ओलीले पार्टीमा कामै गर्न नदिएको गुनासो गरेका थिए । उनले पार्टीबाट हटाएर अपमानित र मानमर्दन गर्ने काम गरेको भन्दै लामो दुःखमनाउ गरेको नेपालनिकट स्रोतले जानकारी दियो ।
आज ठोसरूपमा केही कुरा भएन । संवादलाई जोड्ने सेतु मात्रै भयो आजको भेट, स्रोतले भन्यो, उहाँले आफूविरुद्ध घेराबन्दी गरेको, पार्टी सञ्चालमा भाँजोमात्रै हालेको आदि गुनासो गर्नुभयो ।
नेता नेपालले पनि स्वेच्छाचारिता बढ्दै गएपछि पार्टीभित्र विग्रह उत्पन्न भएको दोहोर्याएका थिए । दुवै पक्षको मिलन विन्दु २०७५ जेठ २ नै भएकाले त्यहीँ फर्कंदा पार्टी विभाजन नहुने दोहोर्याएका थिए ।
थापाले दुईजना नेताबीच पुनः भेट्ने सल्लाह भएर आजको भेटघाट टुङ्ग्याएको जानकारी दिए ।
कुनै कुरामा समझदारी भएको छैन । दुवै आआफ्नो अडानमा हुनुहुन्छ । फेरि भेट्ने कुरा भएको छ,उनले भने । यो समाचार बार्हखरीमा छापिएको छा ।