म्याग्दी - म्याग्दी अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् ।सन्तोष गौतमले अन्नपुर्णपोष्टमा लेखेका छन ।
गत २८ चैतको कार्यपालिका बैठकले गरेको १० लाख रुपैयाँ विनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी मुस्ताङका स्थानीय तहहरूसँग अन्तक्र्रिया गर्ने निर्णय कार्यान्वयनको वहानामा मुक्तिनाथ तीर्थयात्रा र कोरला नाकाको भ्रमणमा निस्किएका हुन् ।बुधबार साँझ मुक्तिनाथ पुगेका उनीहरु उपल्लो मुस्ताङस्थित कोरला नाकासम्म पुगेर वैशाख ११ गते फर्कने कार्यक्रम बनाएका छन् ।
महिनौअघि काम सकेका उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु मुस्ताङ यात्रा गएको विषयमा सर्बत्र विरोध भइरहेको छ। उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्षसहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ता अघि मात्रै मुस्ताङ घुमेर फर्कनुभएका लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुईजना कर्मचारी पनि सहभागी छन् ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी भएका छैनन् ।
नारच्याङका श्याम पुर्जाले दुई महिनाअघिनै काम सकेपनि कहिले प्रशासकीय अधिकृत नहुने र आएपछि पनि बैठक, गोष्ठि, तालिमको बहानामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको गुनासो गरे ।