पोखरा - पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्।
बिहीबार बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन्। उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्।
उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाएका थिए। उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका छन्।