Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बिस्फोट, कम्तीमा ४ जनाको मृत्यु

पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बिस्फोट, कम्तीमा ४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १३:२३:४५ बजे
  • 1.6K
    SHARES
  • पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बिस्फोट, कम्तीमा ४ जनाको मृत्यु

    पाकिस्तानमा बुधबार राति एक होटलको पार्किङमा बिस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।

    images

    दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा भएको बिस्फोटमा परी १२ जना घाइते भएका छन्।

    पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको टोली बसिरहेको होटलको पार्किङमा बुधबार राति स्थानीय समयअनुसार सवा दश बजेतिर बिस्फोट भएको हो।

    पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार बिस्फोटको बेला चिनियाँ राजदूत होटलभित्र थिएनन्।

    सुरक्षा स्रोतका अनुसार बुधबार राति राजदूत रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोज गरेर होटल फर्किन लागेका थिए। उनी होटलमा पुग्नु केहीबेर अघि बिस्फोट भएको हो।

    चिनियाँ टोलीका सबै जना सुरक्षित रहेको र ज्यान गुमाउनेहरू सबै पाकिस्तानी नागरिक भएको पुष्टि भएको छ।

    पाकिस्तानी गृहमन्त्री शेख रसिद अहमेदले बिस्फोटको घटनालाई आतंकवादको संज्ञा दिँदै हरेक कोणबाट यसको अनुसन्धान हुने बताएका छन्।

    बिस्फोटको जिम्मा तेहरिक-इ-पाकिस्तान तालिवानले लिएको छ। आक्रमणकारीहरूले चिनियाँ टोलीलाई नै निशाना बनाएका थिए कि थिएनन् भन्ने प्रष्ट भइसकेको छैन।

    तालिवानको विज्ञप्तिमा आत्मघाती हमलाकारीको उद्देश स्थानीय र विदेशीबीचको बैठकलाई बिथोल्नु थियो भन्ने उल्लेख गरिएको छ। अधिकारीहरूले भने  बिस्फोट आत्मघाती हमलाकारीले नभई कारमा बिस्फोटक पदार्थ राखेर गरिएको बताएका छन्।

    खनिज र प्राकृतिक ग्यास धेरै भएको बलुचिस्तानमा पृथकतावादीहरू छन्। छुट्टै बलुच देश बनाउन लागेका विद्रोहीहरूले बेलाबेलामा आक्रमण गरिरहन्छन्। पछिल्लो समय उक्त क्षेत्रमा चिनियाँ लगानी बढेपछि उनीहरूले चिनियाँ लगानीमाथि निशाना बनाउने गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology