लुम्बिनी - लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने भएका छन्। आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य लीला गिरीले जानकारी दिए।
पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ। संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए। बहुमत प्राप्त दलको हैसियतमा नयाँ सरकार बनाउने गृहकार्य भएको हो। पोखरलले दिएको राजीनामा स्वीकृत भइसकेको छ।
लुम्बिनीमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलबीच गठबन्धन बनेर अविश्वासको प्रस्ताव दर्ता भए पनि निर्णायक मानिएको जसपाका चार सांसद भने मन्त्री बनेका थिए। जसपाका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी अविश्वासको प्रस्ताव दर्ता भएको केहीबेरमै मन्त्री भएका हुन् ।
जसपाले पार्टीको निर्णयविपरीत सरकारमा सामेल भएको भन्दै सांसद पद नै नरहने गरी निलम्बन गरेको छ। जसपा प्रदेश संसदीय दलले कारबाही गरेको सूचना प्रदेशसभा सचिवालयबाट जारी भएपछि उनीहरू पदमुक्त भएका हुन्।
यसअघि ८७ सदस्य रहेको जसपाका चार र माओवादी केन्द्रका दुईजनाको सांसद पद निलम्बन भएपछि सदनमा सदस्य संख्या ८१ पुगेको छ। अहिले सत्तारूढ नेकपा एमालेसँग ४१ सांसद छन् भने कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चारजना कारबाही पछि) र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
एमाले बाहेकका दलको सांसद संख्या सभामुखबाहेकको संख्या जोड्दा ३९ पुग्छ। यो अंकगणितका आधारमा एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो र उहाँसँग बहुमत छ।