Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ढोरपाटन पुग्ने सडकको बाधक बन्यो मटला भिर

ढोरपाटन पुग्ने सडकको बाधक बन्यो मटला भिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७८ मंगलवार • १२:१५:४४ बजे
  • 1.7K
    SHARES
  • ढोरपाटन पुग्ने सडकको बाधक बन्यो मटला भिर

    म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धवलागिरि गाउँपालिका–१ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक निर्माणको काम धवलागिरि गाउँपालिका–३ मुनाको मटला भिरमा पुगेर रोकिएको छ । सडक डिभिजन कार्यालयमार्फत निर्माण हुन लागेको मुना–ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने मटला भिरको विशाल पहरो फुटाउने काममा ढिलासुस्ती हुँदा सडक निर्माणको काम रोकिएको हो ।

    images

    जिसी कन्स्ट्रक्शनले निर्माणको जिम्मा लिएको मटला भिर सडकखण्डका लागि चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट दुई करोड, धवलागिरि गाउँपालिकाबाट २५ लाख र मालिका गाउँपालिका–२ लुलाङबाट १५ लाख विनियोजन भएको थियो ।

    राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने मटला भिरमा वन कार्यालयको अनुमतिबिना सडक निर्माण गर्न लागिएकाले मुद्दा परेपछि त्यसको छिनोफानो नहोउञ्जेलसम्म लुलाङको खोरियागाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताए । मुना–ढोरपाटन सडकखण्ड लुलाङको लमसुङबाट खोरियागाउँसम्म पुगेको छ । मटला भिरको पहरो फुटाएर ट्र्याक खोल्ने हो भने चालु आवमा नै खोरियागाउँसम्म मोटर पुग्न सक्ने भएको छ ।

    यस सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भएमा म्याग्दी, बागलुङ, रुकुम, रोल्पालगायतका जिल्लाका हजारौँ सर्वसाधारणलाई सजिलो हुने वडासदस्य पाइजाले बताए । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक निकै छोटो र सहज भएकाले निर्माणकार्यलाई तीव्रता दिन स्थानीयवासीले माग गरेका छन् । त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धवलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धवलागिरि गाउँपालिका–३ का वडाध्यक्ष पुर्म पुनले बताए ।

    जिल्लाको दुर्गम बस्ती र बागलुङ, म्याग्दी रुकुमलाई जोड्ने यस सडक निर्माणकार्यलाई तीव्रता दिई समयमै ट्र्याक खोल्न सक्ने हो भने पिछडिएका दुर्गम गाउँका नागरिकले सुविधा प्राप्त गर्न सक्ने उनको भनाइ छ । पश्चिमी म्याग्दीको बहुप्रतिक्षित योजनासमेत रहेको बेनी–दरवाङ–मुना–गुर्जा सडक आयोजना सम्पन्न भएर यातायताका साधन सञ्चालन हुन थालेपछि यस क्षेत्रको कायापलट हुने अनुमान गरिएको छ ।

    यस क्षेत्र पशुपालन, जडीबुटी, पर्यटन, खनिज, वनपैदार र पर्यटनको प्रशस्तै सम्भावना भएकाले अहिले सबैको नजर यहाँ ट्र्याक कहिले खुल्ला र गाडी कहिले गुड्ला भन्ने कुरामा नै प्रतिक्षारत रहेका मुनाका युवा किशोर भण्डारीले बताए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology