बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको उप-निर्वाचनका लागि २१ वैशाखबाट लागू हुने गरी सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी दर्ता हुन लागेको हो ।
बागमतीको प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सातमध्ये पाँचवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । त्यसमध्ये बिहीबार अबेरसम्म दुई राजनीतिक दल र अन्य दुईवटा दलका असन्तुष्ट समूह मिलेर बनेको एउटा गठबन्धनका उम्मेदवार मात्रै टुंगो लागेको छ । एमाले र नेमकिपाले उम्मेदवारी टुंग्याएका छैनन् ।
कांग्रेस, माओवादी केन्द्र, माधव नेपालसहितको एउटा गठबन्धनबाट खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको छ । उपनिर्वाचनका लागि आयोगमा दर्ता भएका दलमध्ये कांग्रेस, माओवादी केन्द्र र एमालेको झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले संयुक्त गठबन्धन बनाएका छन् । उनीहरूले खनाल नेपाल समूहका खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि सामेल हुने भएको छ ।
माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गठबन्धनका तर्फबाट देवकोटालाई उम्मेदवार बनाउने निश्चित भएको बताए । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री थापालाई उम्मेदवार बनाउने औपचारिक प्रस्ताव गरेका थिए । तर, थापाले जितको सुनिश्चित नहुने चुनावमा आफू नउठ्ने बताएपछि बैठकले निर्णय गर्न सकेन । माओवादीले कारबाही गरेपछि राष्ट्रिय सभामा थापाको सिट खाली भएको थियो ।
नेमकिपाले पनि शुक्रबार बिहान मात्रै उम्मेदवारको टुंगो लगाउने पार्टीका सचिव तथा प्रवक्ता प्रेम सुवालले जानकारी दिए । यस्तै दर्ता भएको अर्को दल राप्रपाले भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।नयाँ पत्रिकाले लेखेको छ ।
तीन सय ४८ मतदाताका लागि दुईवटा मतदान केन्द्र
राष्ट्रिय सभा उपनिर्वाचनमा बागमती प्रदेश सभाका एक सय १० र १३ जिल्लाका एक सय १९ स्थानीय तहका दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभाका एकजना सदस्यबराबर ४८ र स्थानीय तहका प्रमुख वा उप्रमुखको १८ मतभार गणना हुन्छ । बागमती प्रदेशमा सबैभन्दा बढी मतदाता नेकपा एमालेका प्रदेश सभामा ५७ र स्थानीय तहमा एक सय ३३ जना, कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना, माओवादी केन्द्रका प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना मतदाता छन् । यस्तै, नेमकिपा र राप्रपाका प्रदेश सभामा दुई दुईजना र स्थानीय तहमा पनि दुई दुईजना छन् । जनता समाजवादी पार्टीका प्रदेश सभामा एकजना र स्थानीय तहमा पनि एकजना छन् भने विवेकशील साझा पार्टीका प्रदेश सभामा तीनजना मतदाता छन् ।
आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको छ । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्य एक सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।