नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दै छ ।अन्तिम प्रयास गर्दा पनि प्रधानमन्त्री केपी ओली नसच्चिएको निष्कर्षसहित एमालेको खनाल नेपाल समूहका २२ सांसदले राजीनामा दिने निर्णय गरेका छन् ।
नेपाल समूहका करिब ३४ सांसद छन् । तर, समानुपातिक सांसदले राजीनामा दिएमा ओलीले तत्कालै नयाँ नियुक्त गर्न सक्छन् । त्यसैले प्रत्यक्ष निर्वाचितले मात्र राजीनामा दिने समझदारी भएको बैठकका सहभागीहरूले बताए । शनिबार ओली पक्ष र माधव पक्षका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल भएको थियो । वार्तामा सहभागी नेताहरुका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छ । तर माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत छैनन् ।
शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।
एमालेका २२ सांसदले राजीनामा दिएमा संसदीय अंकगणित पूरै उलटपुलट हुनेछ । सत्तारुढ दलका २२ सांसद कम भएमा प्रधानमन्त्रीले विश्वासको मत साबित गर्न असम्भव हुनेछ । त्यस्तै, ओलीको विकल्पमा नयाँ सरकार बन्ने बाटो पनि खुला हुनेछ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाबाट चार सांसद बर्खास्त भएका छन् । थप चार सांसद निलम्बित भए पनि तत्काल कायम रहेको संख्यामा उनीहरूको पनि गणना हुन्छ । त्यसैले संसद्मा अहिले कायम रहेको सांसद संख्या दुई सय ७१ छ ।
एमालेका २२ सांसदले राजीनामा दिएमा तत्काल कायम रहेका सदस्यको संख्या दुई सय ४९ हुनेछ । विश्वासको मत साबित गर्न एक सय २५ सांसद आवश्यक पर्नेछन् । तर, त्यो अवस्थामा एमालेमा ९९ सांसद मात्र हुनेछन् । बहुमतका लागि थप २६ सांसद आवश्यक पर्नेछन् ।
अहिलेसम्मको राजनीतिक परिदृश्यमा ओलीले पार्टीबाहिरबाट २६ सांसद जुटाउन सम्भव छैन । ३२ सदस्य रहेको जसपाको बहुमत ओलीको विपक्षमा छ । ओलीप्रति सहानभूति राख्ने महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा करिब १४ सांसद रहेको पार्टी स्रोत बताउँछ । यसरी जसपाको सो समूहले समर्थन गरे पनि ओलीको पक्षमा एक सय १३ सांसद पुग्छन् । त्यस्तै, नेमकिपा र राप्रपाले समर्थन गर्दा पनि ओलीको पक्षमा एक सय १५ मात्र पुग्छ । उनका लागि १० सांसद अपुग हुन्छन् ।
माधव नेपाल समूहका २२ सांसदले राजीनामा दिएपछि संसद्को अंकगणितअनुसार नयाँ सरकार बनाउने बाटो पनि खुला हुनेछ । संसद् दुई सय ४९ सदस्य कायम भएमा एक सय २५ सांसद जुटाउन विपक्षीलाई भने सजिलो हुनेछ । कांग्रेस (६३), माओवादी (४८) र जसपाका (करिब १८) सांसद, जनमोर्चा एक र स्वतन्त्र एकको समर्थनमा देउवाले कम्तीमा एक सय ३१ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न सक्छन् ।
परिस्थिति बदलिएमा जसपाको उपेन्द्र यादव समूहमा सांसदको संख्या अझ बढ्ने सम्भावना छ ।
प्रधानमन्त्री ओलीको हठकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको भन्दै अधिकांश सांसदले वरिष्ठ नेताको हैसियतमा नेपाललाई आइतबार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझाबसमेत दिएका छन् ।