पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताएका हुन् ।
"संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने"
उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए । सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन, उनले भने, भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ । उनले संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने बताए ।
कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी
यसै गरी ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार गरेका छन् । सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो ओलीले भने । उनले जनताको जीवन रक्षा पहिलो सर्त भएको भन्दै कसैले महामारीको मौकामा फाइदा उठाउँदै भ्रष्टाचार गर्न खोज्न भने त्यसलाई कारबाहीको दायरामा ल्याइने बताए ।
"आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार"
उनले विपक्षीले आफ्नो बदनामका लागि किर्ते काममा समेत लागेको भन्दै आक्रोश पोखे । भारतीय गुप्तचर एजेन्सी रअ का प्रमुख सामन्त गोयलसँग आफ्नो गोप्य सम्झौता भएको भन्दै किर्ते दस्ताबेज बाहिर ल्याउने काम भएको उनले बताए ।
ओलीले मुलुक कोभिड १९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी प्रस्तुत गरे ।