एजेन्सी । कोरोना भाइरस संक्रमितको संख्या एकदिनमा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा २ लाख ७९ हजार ७ सय ६० जना संक्रमित भएका छन् । यो संख्या कोरोनाबाट एकदिनमा संक्रमित हुने अहिलेसम्मकै धेरै हो । दुईदिनअघि भने २ लाख ३९ हजार ६ सय ९२ जना संक्रमित भएका थिए ।
कोरोना संक्रमितमध्ये पछिल्लो एकदिनमा अमेरिकामा सबैभन्दा धेरै ७१ हजार ९ सय ६७, ब्राजिलमा ६५ हजार ३ सय ३९, भारतमा ४५ हजार ५ सय ९९, दक्षिण अफ्रिकामा १३ हजार १ सय ५०, कोलम्वियामा ७ हजार ३ सय ९०, अर्जेन्टिनामा ५ हजार ७ सय ८२, रसियामा ५ हजार ८ सय ६२ र मेक्सिकोमा ६ हजार ८ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् ।
कोरोनाबाट पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या पनि अहिलेसम्मकै धेरै भएको छ । ७ हजार १ सय १३ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् । यो संख्या तथ्याङ्क अध्यावधिक गरिएकोबाहेकको अहिलेसम्मकै धेरै हो । दुई दिनअघि भने जम्मा ५ हजार ७ सय जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार २ सय ५, ब्राजिलमा १ हजार २ सय ९३ र भारतमा १ हजार १ सय २० जनाको ज्यान गएको छ । भारतमा एकदिनमा मृत्यु हुने अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घन्टामा मेक्सिकोमा ९ सय १५ जनाले ज्यान गुमाएका छन् ।