Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने गठबन्धन प्रयास जनमोर्चाका एक सांसदका कारण तुहिने अवस्थामा

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने गठबन्धन प्रयास जनमोर्चाका एक सांसदका कारण तुहिने अवस्थामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १६:४०:१७ बजे
  • 1.6K
    SHARES
  • गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने गठबन्धन प्रयास जनमोर्चाका एक सांसदका कारण तुहिने अवस्थामा

    पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने कांग्रेस-माओवादी प्रयास जनमोर्चाका एक सांसदका कारण तुहिने अवस्थामा पुगेको छ । तत्कालिन माओबादी केन्द्र र एमाले गठबन्धनमा बनेको गण्डकी प्रदेशमा एमालेबाट निर्वाचित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विकल्पमा गण्डकी प्रदेशसभामा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार निर्माणका लागि हस्ताक्षर गर्न नमानेपछि कांग्रेस-माओवादीको योजना तत्काललाई तुहिने अवस्था आएको हो ।

    images

    थापाले जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको निर्देशन अवज्ञा गर्दै पृथ्वीसुब्बा गुरुङलाई नै समर्थन गर्ने अडान लिएर कांग्रेस-माओवादीको योजनामा हस्ताक्षर गर्न नमानेपछि गुरुङकै नेतृत्वमा फेरि प्रदेश सरकार बन्ने सम्भावना बढेर गएको हो । जनमोर्चाका सांसदहरुलाई पार्टीकी सचेतक पियारी थापाले कांग्रेस-माओवादीसहितले बनाउने नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न ह्विप लगाएकी थिइन्।

    थापाको साथ लिन माओवादी-कांग्रेस चुकिरहँदा गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। माओवादी केन्द्रका नेता तथा सांसद दीपक कोइरालाले थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेको बताएका छन्। यसअघि गुरुङलाई लगाइएको अविश्वास प्रस्तावमा मतदान गर्न नमानेर आईसीयुमा बस्न पुगेका जनमोर्चाकै सांसद खिमविक्रम शाहीले भने माओवादी-कांग्रेसको अगुवाइमा बन्ने सरकारलाई सघाउने भएका छन्। उनले यसअघि पनि दलको निर्देशन अनुसार गुरुङविरुद्धको अविश्वासमा उभिने बताएका थिए।

    मुख्यमन्त्री गुरुङले केही दिनअघि पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार बनाउन आह्वान गरेकी थिइन्। पौडेलले दिएको तीन दिनको समय सकिँदै गर्दा कांग्रेस-माओवादीको तनाव बढेको हो। अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

    राजमो सचेतक पियारी थापाले सोमवार ह्वीप जारी गरेकी थिइन्। तर थापाले त्यसले आफूलाई फरक नपर्ने बताएका थिए। थापालाई दोहोरो दबाब छ। केन्द्रबाट पृथ्वी सुब्बा गुरुङको विपक्षमा उभिने र भूगोलबाट कांग्रेस-माओवादीलाई साथ नदिने। थापाले बागलुङबाट आफूलाई फरक किसिमको दबाब रहेको बताउँदै आएका छन्।

    सांसद थापाको अडानले ३० दिनसम्म गुरुङ नै मुख्यमन्त्री कायम रहनेछन्। गण्डकीमा राजमोका ३ सांसद छन्। एमाले र माओवादी-कांग्रेस दुवैको सत्ताको खेलमा यी सांसद निर्णायक हुँदा तानातान भएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology