पोखरा - गण्डकी प्रदेशमा नयाँ सरकारको दावी गर्दै चार दलले प्रदेश प्रमुखलाई पत्र पठाएको छ । प्रदेशमा नयाँ सरकारको दावी गर्दै काङ्रेस माओवादी राजमो र समाजवादीले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ ।
एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि संख्या पुगेको दवी सहितपत्र बुझाएको अनुमान गरिएको छ । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।
यता राष्ट्रिय जनमोर्चाले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाए लगतै हटाएको भनिएका दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।
थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।