पोखरा - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधर कार्यकारिणी सदस्य र सांसदहरूको अनौपचारिक बैठक बोलाएका छन् । यादवले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
जसपामा आफूहरु बहुमतमा रहेको दाबी गर्दै आएका अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा बहुमत सांसद उभिएपछि आफ्नो समूहको बैठक बोलाएका हुन् । यसअघि, बराबर सांसद रहेको भनिएपनि अहिले यादव पक्ष अल्पमतमा देखिएको छ । यादव समूहको आजको बैठकमा राजेन्द्र महतोलाई संसदीय दलको नेताको रूपमा चयन गरिएको समाचारलाई खण्डन गर्ने मुख्य एजेण्डा रहेको जसपा स्रोतले जनाएको छ । य
स्तै, बैठकमा बहुमत कार्यकारिणी सदस्यको उपस्थितिमा ओली सरकारमा कुनै हालतमा नजाने निर्णय पनि गर्ने यादव समूहको तयारी छ । ओली सरकारलाई विश्वासको मत पनि नदिने कुरामा बैठकमा छलफल हुने स्रोतले बताएको छ ।
यादव समूहको बैठकमा आफ्नो पक्ष छोडेर महन्थ-राजेन्द्र पक्षमा लागेका २ जना प्रत्यक्ष निर्वाचित सांसद बिमल श्रीवास्तव र उमाशंकर अरगरिया तथा २ समानुपातिक सांसद रूही नाज र कलुदेवी विश्वकर्मालाई अनुशासनको कारबाही गर्ने बारे पनि छलफल हुने स्रोतले बताएको छ ।