एजेन्सी । १ फेब्रुअरी २०२१ अर्थात् म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको दिन । त्यस दिनदेखि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलगायत पूर्वराष्ट्रपति र अन्य अधिकारीहरूलाई नियन्त्रणमा लिएर सत्ता चलाइरहेको छ ।
त्यसयता म्यानमारका जनता सेनाको कदमको विरोधमा आन्दोलनमा छन् । त्यसयता भएका प्रदर्शनमा सयौं नागरिकको गोली हानी हत्या भएको छ । हालसम्मको तथ्यांकअनुसार अहिलेसम्म ७ सय ८३ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ८ सयभन्दा बढीलाई सेनाले पक्राउ गरेको छ ।
सेनाको यो कदमको विरोधमा एक जना सुन्दरी पनि विद्रोहमा उत्रेकी छन् । ती सुन्दरी अरु कोही नभएर सन् २०१३ मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा म्यानमारका तर्फबाट भाग लिएकी ३२ वर्षीया तार तेत तेत हुन् । उनी आदिवासी विद्रोही समूहसँग जोडिएर सैनिक कुको विरोधमा उत्रिएकी हुन् । उनले सैनिक कुको विरोधमा आफूलाई उभ्याउँदै जंगलमा राइफल बोकिरहेका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘सेनाविरूद्ध लड्ने समय आइसकेको छ, तपाईंले हतियार समात्नुस्, कलम वा किबोर्ड वा प्रजातान्त्रिक आन्दोलनका लागि चन्दा दिनुस् । आन्दोलनलाई सफल पार्न सबैले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ ।’
ट्वीटरमा पनि उनले विद्रोहका शव्दहरु ओकलेकी छन् । त्यहाँ उनले चे ग्वेभाराको शव्द सापटी लिँदै लेखेकी छन्, क्रान्ति पाकेको स्याउजस्तो आफैं झर्दैन हामीले गर्नुपर्छ । ट्वीटरमा पनि उाले हतियार बोकेको केही फोटो राखेकी छन् । उनले आफूले क्रान्तिका लागि सकेजति सबै गर्ने र ज्यान दिनु पर्ने भए पनि पछि नहट्ने बताएकी छन् ।
पछिल्ला दिनमा सैनिक शासनविरुद्ध त्यहाँका जनता संगठित हुँदै गएका छन् । यही क्रममा पनि सुन्दरी तेट पनि सैनिक शासनविरुद्ध उत्रिएकी हुन् ।
पछिल्लो समय म्यानमारका विभिन्न आदिवासी विद्रोही समूहले सैनिक शासनविरूद्ध थालेको सैन्य आक्रमणमा तेट जस्तै असंख्य युवा पनि जोडिएका छन् । कतिपयले सैनिक शासनविरूद्ध लड्न त्यस्ता विद्रोही समूहसँग तालिम लिन पनि गएका छन् ।