सप्तरी । कोरोना संक्रमणबाट सप्तरी सप्तकोसी नगरपालिकाकी उपमेयरको मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया उपमेयर आशा चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

संक्रमण देखिएपछि १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै सप्तकोसी–५ का वडाध्यक्ष दीपक लेखीले बताए ।
‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।’