आश तमु,पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले पुस ५ बाटै यो हर्कत शुरु भएको र यो प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कुकर्म भएको आरोप लगाएका छन् । उनले मध्याधि चुनावको घोषणा नभएर गणतन्त्र खारेज गर्ने प्रपञ्च शुरु भएकोसमेत बताएका छन्।
शनिवार बिहान ट्वीट् गर्दै बाबुरामले लेखेका छन्। 'भित्रीबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्रसेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिकअसंवैधानिकप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो। एकजुट होऊॅ;प्रतिवाद गरौं!'
कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनाव घोषणा गरेकी छन् । संविधान अनुसार वैकल्पिक सरकार बन्न नसकेपछि चुनाव घोषणा भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकी छन् । जसअनुसार अब पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते हुनेछ । राष्ट्रपति भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको हो ।
नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको दाबी परेपनि बहुमतको आधार नपुगेको भन्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएकी थिइन् ।
राष्ट्रपतिबाट ओली र देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।