आश तमु,पोखरा । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले प्रधानमन्त्रीको यस कदमलाई प्रतिगमन भाग २ को समेत संज्ञा दिएका छन् ।
उनले लेखेका छन "षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !"
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको नेता नेपालको ठहर छ। यसको डटेर प्रतिवाद गर्न नेता नेपालको आह्वान समेत गरेका छन् ।
एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी
खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।
एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेस गर्नुभएको थियो । उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।