एजेन्सी । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी बालबालिकाहरुलाई पढाउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो ।’ स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।
ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् । १९ र २०औं शताब्दीमा आदीवासी विद्यार्थीहरुलाई पढाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो ।
त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे । क्याम्लुप्स इन्डियन आवासीय विद्यालय सन् १८९० मा रोमन क्याथोलिक प्रशासनअन्तर्गत स्थापना भएको थियो । ५० को दशकमा त्यहाँ विद्यार्थी सङ्ख्या पाँच सयसम्म पुगेको थियो । सन् १९६९ मा केन्द्रीय सरकारले यसको सञ्चालनको जिम्मेवारी सम्हालेको "बिबिसीले" जनाएको छ ।