दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बहिष्कार गरेका छन ।
बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् । राष्ट्रिय सभा सदस्य चयनका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान जारी छ ।
दिउँसो ३ बजेसम्म हुने मतदानको नतिजा सोमबार नै आउनेछ । निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।