काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज मंगलबार विहान जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार एमालेको भातृ संगठन युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुयाउँदैछन् भन्ने गरेको टिप्पणीलाई लिएर कांग्रेस प्रवक्ता शर्माले जवाफ दिएका हुन् । उनले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीट गरेका छन्, कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ । उनले भनेका छन्, अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ ।
देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।
प्रधानमन्त्री ओलीले भनेका मुख्य विषयबस्तु यस्ता थिए कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुयाउँदै हुनुहुन्छ? कुन हैसियतमा पुयाउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ ? पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने, अनि वर्तमान न्यायालयका कामकारवाहीमाथि हस्तक्षपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुयाउँछ, तर म भन्न चाहन्छु यस प्रकारका आउटडेटेड इलिमेन्टहरुबाट, यस्ता इलिमेन्टहरुबाट देशलाई दुष्प्रभावित हुन दिइने छैन, जोगाइने छ ।