पोखरा । महन्थ ठाकुरसहित चार नेतालाई जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।
जसपाका नेता एव पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिईसकेको बताएका छन । ७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।
११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् । ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ ।
१५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिए । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको छ ।