विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोमबार (हिजो) थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर भएको थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।
कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरेको थियो । थप स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !
उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ! उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ ।
यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।
अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।
