पोखरा । परराष्ट्रमन्त्रालयबाट बाहिरिए लगतै एमाले नेता प्रदिप ज्ञवालीले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत तीन वर्ष मन्त्री हुदाँ देखिको सम्पति विरवरण सार्वजनिक गरेका हुन । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् ।
‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० गरी जम्मा ९३४,९३० पार्टी खातामा जम्मा भएको …’, सामाजिक सञ्जालमा लेखेका छन् । पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१।१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् । यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५।६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् ।
मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट पारेका छन् । शनिबार बिहानै मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् । उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
धन्यवाद तथा आभार करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु ।
यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी १ का मतदाताहरुप्रति कृतज्ञ छु । नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु । यस अवधिमा म प्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद । भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली २१ जेठ २०७८