नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । शुक्रबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भयो । भेटवार्तामा के भयो भन्ने कुरा दुवै अध्यक्षले आफू निकटसँग मात्रै भनेका छन्, सार्वजनिक रुपमा यो विषय बाहिर आएको छैन ।
तर, भेटवार्ता लगत्तै प्रचण्डले दिएको अभिव्यक्तिले नेकपाको विवाद सकारात्मकभन्दा पनि थप उत्कर्षमा पुगेको अनुमान लगाउन सजिलो छ । प्रधानमन्त्रीसमेत रहेका ओलीका सबैभन्दा नजिक मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको शनिबार बिहानको जवाफले पनि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको अनुमान लगाउन सहज नै छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको प्रष्टिकरणले पनि नेकपाको विवाद थप उत्कर्षमा पुगेको कुरा बुझन सजिलो छ । यी अभिव्यक्ति र स्टाटसमा पक्ष-विपक्षमा टिप्पणी आइरहेको छ । तल्लो तहसम्मका नेता कार्यकर्ता दुई समूहमा विभाजन भएर टिप्पणीमा लागेका छन् ।
के भयो बालुवाटारमा जसले प्रचण्ड आक्रोशित बने ?
नेकपाभित्रको विवाद पछिल्लो समय मिल्ने विन्दुतर्फ केन्द्रित रहेको थियो । शुक्रबार बिहानसम्मको अवस्था हेर्दा अध्यक्षद्वयबीच कुनै प्रकारको समझदारी भएको र त्यसलाई कार्यान्वयन गर्न बाँकी रहेको केही नेताले बताएका थिए । दुवै पक्षका क्रियाकलाप हेर्दा पनि नेकपा विवाद मिल्ने विन्दुतर्फ गएको देखिएको थियो ।
शुक्रबार बिहान प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगे । सधैँझै अध्यक्षद्वयबीच सुरुवातमा समझदारी कायम गर्नेगरी छलफल सुरु भयो । प्रचण्डले विवाद समाधानका लागि प्रधानमन्त्री पनि भएकाले आफैले पहल लिन र कुनै एक पदमा बसेर अन्य व्यक्तिलाई पनि जिम्मेवारी दिन आग्रह गरे ।
तर, ओलीले छलफलकै क्रममा 'भैँसी र जुम्राको कथा' सुनाएर वरिष्ठ नेता, उपाध्यक्षलगायतका शीर्ष नेतासँग कुनै पनि कुराकानी हुन नसक्ने कुरा दोहोर्याए । एक सचिवालय सदस्यका अनुसार ओलीले भने, 'तपाईँ र मैले हो पार्टी एकता गरेको । तपाईँ र म भएपछि अरुसँग किन कुरा गर्ने ? भैँसी नै लिएपछि त्यसका जुम्रा ल्याउन पर्दैन । जुम्रा त भैँसीसँगै आउँछन् ।'
प्रचण्डले निषेधले पार्टी नचल्ने भएकाले यसरी एकता कायम गर्न समस्या हुने सुनाए । उनले भने, 'सबै साथीहरुसँग छलफल गरेर जानुपर्छ । पेल्दै गएपछि थप समस्या आउँछ । यसरी पार्टी कसरी बलियो हुन्छ ? एकले अर्कोलाई भित्तामै पुग्नेगरी पेल्ने कुरा राम्रो भएन । यसरी त कसरी समझदारी हुन्छ ?'
प्रचण्डले कुराकानी राख्न नपाउँदै ओलीले फेरि अर्को कुरा गरे । उनले भने, 'तपाईँहरु मेरोविरुद्ध गुटबन्दी गर्ने, राजीनामा दिनका लागि बहुमत पुर्याएको हल्ला गर्ने र मलाई कुर्सीबाट हटाउन खोज्ने ? अब तपाईँहरु अल्पमतमा पो पर्नु भयो कि ? अब समझदारी भन्ने हुँदैन । तपाईँहरुले सकेको गर्नुस् । मैले पनि तयारी गरेकै छु । यसरी पार्टी एकता हुँदैन ।'
नेताहरुबीच अनौपचारिक वार्ता र संवाद भइरहेका समयमा एकाएक ओलीको बोली फेरिएपछि प्रचण्डले पनि भने, 'तपाईँ अब के के गर्ने गर्नुस् । म तपाईँलाई पार्टी फुटाउन दिन्न । अब प्रक्रियागत हिसाबले निर्णय गर्दै अगाडि बढौँ । नेतृत्वविरुद्ध अनावश्यक दबाब सिर्जना गर्ने र धम्की दिने ? यसरी हुँदैन ।'
ओली र प्रचण्डबीच सुरुवातमा राम्रो कुरा भए पनि निष्कर्षमा कुनै पनि कुरा पुगेन । आफूलाई अपमानित गरेको महसुुस गरेका प्रचण्ड त्यहाँबाट बाहिरिए । उनी ललितपुरमा आयोजित एक कार्यक्रममा गएर पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दिनेगरी अभिव्यक्ति दिए ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले लगातार दुई दिनसम्म प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । ओली र देउवाबीचको छलफल संवैधानिक आयोगको पूर्णतामा केन्द्रित थियो ।
भेटवार्ताका क्रममा ओलीले सरकार सञ्चालन लगायतका विभिन्न पक्षमा छलफल गरेका देउवा निकट स्रोतले जानकारी दिएको छ। देउवाले आफू निकटसँग ओलीको तर्फबाट लामो समयसम्म मिलेर जान प्रस्ताव आएको बताएका थिए । यो कुरा देउवाले प्रचण्डसँग गरिसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ठाउँको नियुक्तीमा आफ्नो पार्टीभित्र छलफल नगर्ने बरु सत्ता साझेदारीको प्रस्ताव गरेपछि प्रचण्ड झस्किए । उनले ओलीको अभिव्यक्ति र देउवासँगको सामिप्यताका विषयमा जानकारी पाएपछि शुक्रबार ओलीविरुद्ध अभिव्यक्ति दिए ।
वरिष्ठ नेता माधव कुमार नेपाल निकट एक नेताले आफ्नै पार्टीका नेतालाई सरकारी संयन्त्रको दुरुपयोग गरेर मुद्दा चलाउनेसम्मको तयारी गरेकाले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले शुक्रबार ओलीविरुद्ध अभिव्यक्ति दिन बाध्य भएको बताए । वरिष्ठ नेता नेपालले पनि शुक्रबारको कार्यक्रममा ओलीको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।
नेकपा विवाद अब कता ?
एकदुई दिनभित्र शीर्ष नेतृत्वबाट सार्वजनिक भएको अभिव्यक्तिले नेकपा भित्रको विवाद अब सुधार उन्मुख नदेखिएको प्रष्ट छ । दुवै पक्षले एकले अर्कोलाई गलाउने तरिकाले छलफललाई निरन्तरता दिएका छन् । दुवै पक्षले आआफ्नो तयारी गरेका छन् ।
नेकपा भित्रको विवाद अब प्रचण्ड नेपालको भूमिकामा भर पर्ने ओली निकट स्थायी कमिटी सदस्यले बताएका छन् । उनी भन्छन्, 'अब प्रधानमन्त्री ज्यूले आफ्नो कुरा भनिसक्नु भएको छ । मान्ने नमान्ने उहाँहरुको कुरा हो । महाधिवेशनमा जाने र नेतृत्व चयन गर्नेमा नै सहमति खोज्नुपर्छ । उहाँहरुले मान्नु भएन भने अब त्यसै अनुसार अगाडि बढ्ने हुन्छ ।'
नेपाल पक्षीय एक नेताले भने अब प्रक्रिया अनुसार अगाडि बढ्ने बताए । उनले भने, '१३ गतेदेखि स्थायी कमिटीले विषयबस्तुमा केन्द्रित रहेर छलफल गर्छ । पार्टी ठूलो हो, व्यक्ति ठूलो होइन । यो कुरालाई स्थापित गर्नेगरी निर्णय हुन्छ । व्यक्ति नै सर्वेसर्वा हुने कम्युनिष्ट पार्टी हुँदैन ।'
प्रचण्ड पक्षीय नेता देवेन्द्र पौडेलले सहमति अनुसार अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले भने, 'कसैले पनि पार्टी एकताविरोधी अभिव्यक्ति दिनु हुँदैन । पार्टी एकताको भावना अनुसार निर्णय हुन्छ । अहिले देखिएको विवाद हल हुन्छ ।'
दुवै पक्षको कुरा अब नेकपाको स्थायी कमिटी बैठकसम्म पुगेर टुंगोतर्फ जाने देखिन्छ । दुवै पक्षले स्थायी कमिटीको बैठकलाई नै आधार बनाउने योजना बनाइरहेका छन् । त्यसै अनुसार दुवै समूहले आ-आफ्नो तयारी गरेको देखिएको छ ।