पोखरा । नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पुनः विवादास्पद अभिव्यक्ति दिएका छन् ।
जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका हुन् । शुक्रबार मन्त्री बनेलगत्तै सञ्चारकर्मीलाई दिएको प्रतिक्रियाका क्रममा पनि उनले बहुल राज्य आवश्यक रहेको बताएका थिए । उनको अभिव्यक्तिको सर्वत्र निन्दा भइरहँदा शनिबार उनले सोही कुरा दोहोर्याएका हुन् । उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए ।
एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै महतोले बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । रेशम चौधरीको रिहाइको विषयलाई आफूले ध्यानमा राखेको भन्दै मन्त्री महतोले सर्वोच्चले उनको मुद्दा टुंगो लगाएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए ।