एजेन्सी । कोरोना भाइरसबाट धेरै तौल भएका व्यक्तिको मृत्यु हुने सम्भावना स्वस्थ व्यक्ति भन्दा तीन गुणा धेरै हुने गरेको पाइएको छ । बेलायतको सरकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्डको प्रतिवेदनमा यो कुराको खुलासा गरिएको छ । कोरोनाबाट संक्रमित भएका व्यक्ति सामान्य तौल भएका व्यक्तिलाई भन्दा भेन्टिलेटरको आवश्यकता पनि सात गुणा बढी हुने पाइएको छ । बडी मास इन्डेक्स २५ भन्दा धेरै भएमा व्यक्तिको तौल धेरै भएको सम्झनु पर्छ ।
यस्ता व्यक्तिलाई कोरोना लागेमा जुनसुकै समयमा भेन्टिलेटर आवश्यक पर्ने अनुसन्धानको निष्कर्ष छ । बडी मास इन्डेक्स ३० देखि ३५ धेरै हुने व्यक्तिमा मृत्युको खतरा ४० प्रतिशतले बढ्ने निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन् । बडी मास इन्डेक्स २५ भन्दा धेरै हुने व्यक्ति कोरोनाबाट गम्भीर बिरामी पर्ने सम्भावना दुई गुणा धेरै र मृत्युको खतरा तीन गुणा बढ्छ । भेन्टिलेटर आवश्यक पर्ने सम्भावना सात गुणा धेरै हुन्छ । अनुसन्धानले तौल धेरै भएकै कारणले कोरोना संक्रमणमा भने कुनै फरक नपरेको देखिएको छ ।
तौल धेरै भएका व्यक्तिले आफ्नो तौल जति घटाउँदै लैजान्छन् उति नै कोरोनाबाट बच्ने सम्भावना बढ्दै जाने अनुसन्धानको निष्कर्ष छ । पब्लिक हेल्थ इंग्ल्याण्डको रिपोर्टमा धेरै तौल हुने व्यक्तिको रेस्पिरेटरी सिस्टम अर्थात स्वासप्रश्वास प्रणाली प्रभावित हुन्छ । यसले मानिसको इम्युन सिस्टममा पनि प्रभाव पार्छ । वैज्ञानिकहरुको सुझाव अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको दोस्रो लहर आउने आशंकामा मानिसलाई आफ्नो तौल घटाउन आग्रह गरेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो BMI पत्ता लगाउने बिधि:- तपाईँको तौल (किलिग्राममा) लाई तपाईँको उचाई (मिटर)को वर्गले भाग गरेपछि तपाईँको शरीरको BMI निस्कन्छ।
जस्तै; तपाईँको तौल = ५५ किलोग्राम तपाईँको उचाइ = ५.६ फिट = ६६ इन्च = १.६७६४ मिटर त्यसैले, BMI = तौल / (उचाइ)² = ५५ / (१.६७६४)² = १९.५ विश्वभरका स्वास्थ्य अधिकारीहरू के मान्छन् भन्दा:- १८.५ भन्दा कम BMI हुने व्यक्तिलाई ‘दुब्लो’ भनिन्छ। १८.५ देखि २५ सम्मको BMI हुनेलाई ‘उत्तम तौल’ भएको व्यक्ति भनिन्छ। २५ देखि ३० सम्मको BMI हुनेलाई ‘अधिक वजन’ भएको व्यक्ति भनिन्छ। ३० भन्दा बढि BMI हुनेलाई ‘अति मोटो’ भनिन्छ। BMI एउटा साधारण मापन विधि हो जसले व्यक्तिको कम्मर, छाति अथवा पिठ्यूँमा भएको मांशपेसी र बोसोलाई ध्यानमा राख्दैन। उदाहरणको लागि, सुसंगठीत शरीर भएको खेलाडीको BMI घरमै बसीबसी मोटाउनेको BMI भन्दा धेरै निस्किन सक्छ। घरमा बसेर मोटाउनेहरूको पेट ठूलो हुन्छ, मांशपेसी त्यति गँठिलो हुँदैन, पिठ्यूँ अनि साँफ्रालगायत रगतमा थुप्रै बोसो जमेर बसेको हुन्छ।

त्यसैगरी खेलाडीको पेटमा बोसो जमेको हुँदैन, कम्मर पनि सानो हुन्छ तर मांशपेसी गँठिलो हुन्छ, जसको कारण उसको BMI धेरै आउन सक्छ। यदि BMI लाई उचित मान्ने हो भने घरमै बसीबसी मोटाउने व्यक्ति खेलाडी भन्दा स्वस्थ हुन्छ।