Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्रीमा एमालेका गुरुङको पुन: दाबी

राजमोका थापा र जसपा महन्थ पक्षको समर्थन लिएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङको पुन: दाबी

राजमोका थापा र जसपा महन्थ पक्षको समर्थन लिएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङको पुन: दाबी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १६:०४:०१ बजे
  • 1.4K
    SHARES
  • राजमोका थापा र जसपा महन्थ पक्षको समर्थन  लिएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङको पुन: दाबी

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही अगाडि गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

    images

    गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी गरेका हुन् । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बताइएको छ ।

    जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा पनि यो विवाद सरेको छ ।

    राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका छन् ।

    राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्वहाली गरेपछि प्रदेशसभा सचिवालय भ्याकेटमा गएको थियो ।

    यसअघि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका थिए । 

    प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

    त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दावी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दावी पेस गरेका थिए ।

    गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे ।

    अर्कोतिर विपक्षमा ३० मत खसेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गर्दै बिहीबार तटस्थ रहे । उनलाई पार्टीको ह्वीप उल्लंघन गरेकोमा कारवाही भइसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology