पोखरा । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई फोन गरी बधाई दिएका छन्।
शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई निवर्तमान मुख्यमन्त्री गुरुङले फोन गरी बधाइ दिएका हुन्। 'ल ल ल! मुख्यमन्त्री हुनु भएकोमा बधाइ छ है, मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम धेरै शुभकामना छ, तपाईंको सफल कार्यकालका लागि,' गुरुङले मुख्यमन्त्री पोखरेललाई भनेका छन्।
गुरुङले आफ्नो नम्बरबाट नेपालीलाई फोन लाग्दै नलागेर अरुकै मोबाइलबाट फोन गरी पोखरेललाई बधाइ दिएका हुन्। उक्त कुरा उनले मुख्यमन्त्रीलाई पनि भनेका छन्।
यसअघि गुरुङले पनि मुख्यमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। त्यसपछि पोखरेलसहित ३१ जना सशरीर उपस्थित भएर प्रदेश प्रमुखको कार्यालयअघि धर्ना दिएपछि प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।